गुणस्तरीय शिक्षामा जोड दिऔँ: प्रधानमन्त्री दाहाल


चितवन, ३ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोह रामपुर (चितवन), ३ असार: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी हुँदै ।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।”

उहाँले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रम दाहालद्वारा दीक्षित हुँदै विद्यार्थी रामपुर (चितवन), ३ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सोमबार स्नातकोत्तर तहमा सर्वाधिक अंक प्राप्त विद्यार्थीलाई दीक्षित गर्दै ।

विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”

दीक्षान्त समारोह रामपुर (चितवन), ३ असार ः चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सोमबार दीक्षित विद्यार्थी ।

प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गर्नुभयो । दाहालले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गर्नुभयो ।

“राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपिल गर्छु, राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधि व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।”

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पार्नुभयो ।

प्रम दाहाल – सम्बोधन रामपुर (चितवन), ३ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ।

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यसवर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवद्र्धन गर्ने कार्यक्रमको साथमा सूचना–प्रविधिमा नवप्रवर्तन कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने भन्नुभयो । समारोमा उहाँले आफूले यही पढेको भन्दै स्मरण गर्नुभयो ।

विश्वविद्यालय सभाको विशेष बैठक रामपुर (चितवन), ३ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका अवसरमा विश्वविद्यालय सभाको विशेष बैठकलाई सम्बोधन गर्दै ।

समारोहमा प्रमुख अतिथिको रुपमा आउनुभएका सिक्किम स्किल युनिभर्सीटिका उपकुलपति प्रा डा अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तरमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । आफ्नो विश्वविद्यालय र यस विश्वविद्यालयको बिचमा सहकार्य गरेर जान सकिने उहाँको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीले कृषि तथा वन विज्ञान विश्वविद्यालयले वार्षिकोत्सवको अवसर पारेर गरिएको दीक्षान्त समारोह अबदेखि नियमित हुने बताउनुभयो । उहाँ उपकुलपति नियुक्त हुनु भएपछि यो तेस्रो दीक्षान्त समारोह गरिएको हो ।

दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि गरी एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् ।