प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखामा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मदवारलाई सघाउने निर्णय गरेको हो।
कांग्रेसबाट गोरखा(१) मा प्रेमकुमार खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्।समानुपातिकतर्फ भने आँखा चिह्नमै मतदान गर्ने निर्णय भएको प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीले जानकारी दिए। छलफलपछि राजनीतिक आधारमा कांग्रेस नै नजिक भयो। सोही अनुसार समझदारी भयो, उनले सेतोपाटीसँग भने।
यो निर्णय पार्टीको औपचारिक बैठक बसेर भने नगरिएको उनले बताए।जिल्लादेखि पालिका तहका साथीहरू बसेर समझदारी जुटाएका हौं। त्यहीअनुसार कार्यकर्ताहरूलाई पनि जानकारी गराएका छौं, उनले भने। प्रलोपाका अध्यक्ष परिषदका सदस्य सुदन किरातीले चुनावमा समर्थनबारे केन्द्रबाट निर्णय हुन नपर्ने बताए। जिल्ला र क्षेत्रमा आवश्यकता अनुसार गर्नू भनेका छौं। सोही अनुसार भयो होला, उनले भने।
