इलाम–१ मा दुई मुख्य विषयमा कुरा नमिल्दा सर्वदलीय बैठक अनिर्णीत, पुनः बस्ने


काठमाडौँ । इलाम क्षेत्र नम्बर १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा ढिलाइ भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दलहरूबिच दुईवटा प्राविधिक विषयमा कुरा नमिल्दा मतगणना सुरु हुन नसकेको हो ।

रातोपाटीसँग कुरा गर्दै निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले सर्वदलीय बैठकमा केही विषयमा सहमति जुट्न बाँकी रहेको र हाल बैठक खाना समयका लागि स्थगित भएको जानकारी दिए ।

उनकाअनुसार राजनीतिक दलका प्रतिनिधिहरूले प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैसाथ सुरु गर्नुपर्ने माग राखेका छन् । तर, निर्वाचन अधिकृत भण्डारीले भने ठाउँको अभाव र साँघुरो स्थानका कारण दुवैतर्फको गणना एकैपटक गर्न प्राविधिक रूपमा सम्भव नभएको बताएका छन् । साथै निर्वाचन आयोगको स्पष्ट निर्देशिका अनुसार, प्रत्यक्षको मतपत्र समानुपातिकको बाकसमा वा समानुपातिकको मतपत्र प्रत्यक्षको बाकसमा खसेको पाइएमा त्यस्ता मतपत्रलाई गणना गर्न मिल्दैन । तर, दलहरूले भने बाकस साटिएर खसेका त्यस्ता मतपत्रहरूलाई पनि गणनामा समावेश गर्नुपर्ने अडान राखेका छन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार आयोगको निर्देशन विपरीत जान नसकिने अडान कार्यालयको छ भने दलहरू आफ्नै मागमा अडिग छन् । ‘यी दुई विषयमा कुरा नटुङ्गिई मतगणना कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन,’ भण्डारीले भने ।