काठमाडौँ । यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले ‘विद्यार्थीको ४५५ छुट खोइ रु’ बिहीबार भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।
व्यवसायीहरूका अनुसार वि।सं। २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो । तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् ।
महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै सरकारले दिने सुविधाहरू हटाएको र केन्द्र तथा प्रदेशबिच समन्वय नभएको अवस्थामा भाडा छुट मात्रै कार्यान्वयन गर्न नसकिने अडान राखेको छ । जबसम्म व्यवसायीले पाउने कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने व्यवसायीको ठहर छ । यता, विद्यार्थीहरूले भने आफ्नो कानुनी अधिकारको रक्षा हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम गरेका हुन् ।
