कोभिडपछि बालबालिकामा के देखिन्छ समस्या ?


गएको शुक्रबारसम्म कान्ति बाल अस्पतालमा ७४ जना बालबालिकामा एमआईएससी रोगको संक्रमण पुष्टि भयो । बच्चा एवं परिवारका अन्य सदस्यलाई कोरोना लागेको तीनदेखि पाँच हप्ताभित्र देखिने प्राणघातक रोग एमआईएससीबाट शुक्रबारसम्म कान्ति बाल अस्पतालमा मात्रै १७ जना बच्चाको ज्यान गएको अस्पतालले जनाएको छ। यीमध्ये अधिकांशको यो रोगको लक्षण थाहा नपाएर समयमै अस्पताल नल्याउँदा मुटु, मिर्गौला, मस्तिष्क र फोक्सोमा गम्भीर समस्याका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

अहिले कान्ति लगायत अस्पतालहरूमा बच्चाको मुटु, किड्नी र मस्तिष्कमा गम्भीर असर पुर्‍याउने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोमका बिरामी बढ्दो मात्रामा रहेको चिकित्सकहरू बताउँछन् । जसले समयमा उपचार भएन भने ज्यान जानेदेखि दीर्घकालीन समस्या सिर्जना गराउनेसम्मको जोखिम हुन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा.अजित रायमाझी कुनै पनि बच्चा वा उसको परिवारका कसैलाई कोभिड भएको तीनदेखि पाँच हप्ताको बीचमा यो समस्या देखिने गरेको बताउँछन् ।

यो समस्या हुँदा पहिले ज्वरो आउँछ, ज्वरो बढ्दै जान्छ, मुटु सुन्निन्छ, मुटुले काम गर्न छाड्छ, फोक्सोमा निमोनिया हुन्छ, जण्डिस र कलेजोमा समस्या देखिने जस्ता लक्षण देखिन्छ । त्यस्तै, यो समस्या भएका बच्चाको रगतमा खराबी देखिने, मिर्गौला र स्नायु हुँदै मस्तिष्कसम्म असर पर्ने गरेको डा. रायमाझी बताउँछन्।

के हो एमआईएससी ?

एमआईएससी कोभिडका कारण बच्चाको शरीरमा उत्पन्न हुने एक किसिमको समस्या हो। यो बेलायतका बाल रोग विशेषज्ञहरूले सन् २०२१ को जुलाईमा पत्ता लगाएका हुन् । यस्तै लक्षण देखिने समस्यालाई कोरोना महामारीभन्दा पहिले ‘कावासाकी रोग’ भन्ने गरिन्थ्यो ।

यो पनि पढ्नुहोस
के हो बालबालिकामा देखिएको मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम ?
तर अहिले देखिने गरेको एमआईएससी पूर्ण रूपमा कावासाकी जस्तो नभएकोले बेलायती बाल रोग विशेषज्ञहरूले यसलाई ‘इन्कम्प्लिट कावासाकी’ नामकरण गरेका छन् । यो समस्या अहिले नवजात शिशुमा पनि देखिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझी कुनै पनि बच्चा वा उसको परिवारका कसैलाई कोभिड भएको तीनदेखि पाँच हप्ताको बीचमा यो समस्या देखिने गरेको बताउँछन् ।
अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड फ्रिभेन्सनका अनुसार यो समस्या के कारणले हुन्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । तर कोरोना संक्रमण भएका बच्चामा यसले गम्भीर असर गर्ने गरेको भेटिएको छ ।

बढे एमआईएससीका बिरामी

ग्राण्डी अस्पतालका बालरोग विशेषज्ञ डा. सञ्जयराज थापा पछिल्लो एक सातामा ग्राण्डी अस्पतालमा मात्रै १० जना एमआईएससीका बिरामीको उपचार गरेको बताउँछन् । तीन दिनभन्दा बढी ज्वरो आउने, शरीरमा डाबरहरू देखिने, पखाला लाग्ने जस्ता समस्या भएर आएका बिरामीहरू पछिल्लो समय बढेको उनी बताउँछन् ।

डा. थापा यस्ता बच्चाहरूको समयमा नै उपचार नगर्ने हो भने मुटु, किड्नी, फोक्सो र मस्तिष्कमा दीर्घकालीन असर पर्ने र उनीहरूको ज्यानै जान सक्ने जोखिम रहेको बताउँछन् । त्यसैले कुनै बच्चालाई कोभिड भएको छ र फेरि पनि ज्वरो आउने, शरीरमा डाबर देखिने जस्ता लक्षण देखिए तुरुन्त उपचारका लागि अस्पताल लैजान उनी आग्रह गर्छन् ।

यो समस्याको समयमै उपचार नगराए आईभीआईजी र स्ट्रोएड जस्ता महँगा औषधि चलाउनुपर्ने र यसले लाखौं रुपैयाँ खर्च हुनसक्ने डा. थापा बताउँछन् । पछिल्लो साता नै यो औषधि पाँच जना बिरामीलाई चलाएको उनी बताउँछन् । यो औषधि चलाएकामध्ये सबैको मुटुमा असर गरेको भेटिएको छ ।

मौसमी फ्लुले पनि बच्चालाई समस्या

लामो समय घरको स्वच्छ वातावरणमा बसेका बच्चाहरू स्कूल जान थालेपछि अस्वस्थ वातावरण र धेरैको संगतका कारण रुघाखोकी र मौसमी ज्वरोको शिकार हुने गरेको चिकित्सकहरूले बताएका छन् । अर्कोतर्फ मौसमी फ्लुका बिरामी बच्चाको संख्या पनि अस्पतालमा बढ्न थालेको छ ।

पछिल्लो समय कान्ति बाल एवं अन्य सरकारी अस्पतालहरूमा बिरामी बच्चाहरूको भीड बढेको चिकित्सकहरू बताउँछन् । बाल रोग विशेषज्ञ डा. थापा स्कूल खुल्न थालेपछि बच्चाको लागि प्रतिकूल वातावरण र अभिभावक समेत नियमित काममा जाँदा मौसमी रुघाखोकीको भाइरस लिएर आएकोले पनि बच्चाहरू धेरै बिरामी भएको हुनसक्ने बताउँछन् । अहिले अस्पतालमा बिरामी बच्चाको चाप १० गुणासम्म बढेको डा. थापा बताउँछन् ।