इलाममा सुख्खा पहिरो, मेची राजमार्ग अवरुद्ध


मेची राजमार्ग अन्तर्गत इलामको जिरो धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। गन्तव्यका लागि यातायातका साधनमार्फत् हिँडेका सर्वसाधारण बाटोमा अलपत्र परेको स्थानीयले बताएका छन् । सुख्खा पहिरो जाँदा सडक खण्डमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन्।

इलाम नगरपालिका ८ मा पर्ने यो क्षेत्रमा शनिबार बिहान सुख्खा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर साना सवारी  साधनको आवागमनलाई सहज बनाइएको छ।

प्रहरीले झापाबाट इलाम हुँदै पाँचथर(ताप्लेजुङ जाने र त्यहाँबाट तराई झर्ने सवारी साधनलाई इलाम बजारभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको छ। सडकको करिब आधा भाग पहिरोले बगाएको छ। पहिरो गएको सडक क्षेत्रको अवस्था हेर्दा सडक निर्माण हुन केही दिन लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ।