पहिलो विद्युतीय राहदानी संस्कृतिविद् सत्यमोहन जोशीलाई


सरकारले आजदेखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) को पहिलो प्रति संस्कृतिविद् सत्यमोहन जोशीलाई उपलब्ध गराएको छ । राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएको हो ।

हाल चल्तीमा रहेको मेसिन रिडेबल पासपोर्टलाई विस्थापन गर्नेगरी सरकारले मंसिर १ गतेदेखि विद्युतीय पासपोर्ट परीक्षण वितरण थालेको हो । तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण ९
आईकाओले सुरक्षित मान्यता दिएको छ ।

आजबाट परीक्षण वितरण थालिए पनि राहदानी विभागले विद्युतीय पासपोर्ट वितरण कार्य एक साताभित्रै नियमित र पूर्ण सेवामा परिणत गर्ने जनाएको छ । अत्यावश्यक परेका र एमआरपीलाई बनाउन चाहनेलाई भने विभागले विद्युतीय राहदानी वितरण नियमित नभएसम्म एमआरपी पासपोर्ट नै उपलब्ध गराउनेछ ।

विद्युतीय पासपोर्ट कार्यान्वयन गर्न राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग दुई अर्ब ४८ करोड रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।