नक्कली नोट बनाउने ५ जना पक्राउ


नेपाल प्रहरीले ६५ हजार ३ सय ३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो । समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको छ । पक्राउ पछि गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिएको जनाएको छ ।

नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको जनाएको छ ।