एमाले महाधिवेशनका लागि प्रधानमन्त्री देउवा चितवन जाँदै


काठमाडौं, मंसिर १० । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा आज शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा हेलिकोप्टरबाट बिहान ११ : ४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् ।

नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १ : १५ बजे उनी काठमाडौँ फर्कर्ने कार्यक्रम तय भएको छ ।तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतोलगायत अन्य दलका नेताहरु पनि कार्यक्रममा सहभागी हुनेछन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने बताइएको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आइपुगेका छन् । महाधिवेशन मङ्सिर १२ गतेसम्म चल्नेछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।