माओवादी केन्द्रका नेता वर्षमान पुनलाई स्वास्थ्य सुधार नभएपछि चीन लगियो


काठमाडौं, मंसिर १० । स्वास्थ्यमा सुधार नभएपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थाइल्यान्डको बैंककबाट चीनको सेन्जेन लगिएको हो ।

पुनको पारिवारीक स्रोतका अनुरुप उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको जनाएको छ ।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट विरामी परेका पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन पुगेका छन् । उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ।

बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए। काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस बिलरुविनको तह बढेर १८ पुगेको चिकित्सकहरुले बताएका थिए । थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुनको परिवारले जनाएका छन् । त्यसपछि अहिले घटेर २२ पुगेको हो ।

यसरी बिलरुविन धेरै तलमाथि गर्दा शरिरका अन्य अंगहरूमा पनि त्यसको असर पर्न सक्ने भएको र समितिभेज अस्पतालकै सुझावमा उनलाई चीन लगिएको छ ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पहल गरेका छन् ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक गएका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका हुन्।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो। उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए। केही वर्ष पहिला पनि पुन निकै विरामी परेपछि बैंककमा लगी उपचार पछि निको भएका थिए ।