वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्रीको छलफल


१३ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताउनुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र अवउप्रान्त त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनिहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कंनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए ।

साथै उनिहरुले हातमा सीप नहुँदा विदेशी भुमिमा दु:ख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्युन तलवमा काम गर्नुपरेको तथा  हिंसाको शिकार भएको गुनासो गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताउनुभयो ।