अब कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सक्ने


काठमाडौं, मंसिर २३। काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएकाे छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात गर्नुभएको हाे । उहाँले महाशाखाकाे सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्ताे व्यवस्था ल्याइएकाे बताउनु भयाे । यसअघि कारबाहीमा परेका चालकले २४ घण्टे पुर्जीबापत नियमानुसार जरिबाना तिर्नुपर्ने व्यवस्था थियाे ।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएकाे बताउनु भएकाे छ । उहाँले चिट काटेपछि जरिबाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरेर थप सहज बनाउन यस प्रणालीको सुरु गरिएकाे बताउनु भयाे ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएकाे यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ । जाँडरक्सी खाएर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।