भालुको पित्तसहित ४ जना पक्राउ


संरक्षित वन्यजन्तु भालुको पित्त आखेटोपहार जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका–१५ चमतीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका–५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका–१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका–१० गाबुडाँडा बस्ने ३२ वर्षीय टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका–५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मा रहेका छन् ।

चमती क्षेत्रमा वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई सो वस्तु अवैध रुपमा ओसार पसार तथा बेचविखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद वस्तु सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।